काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको विदेशी तथा नेपाली मुद्रा अवैध रूपमा बाहिर लैजान खोजेको आरोपमा नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार सुनसरीको गढी गाउँपालिका १ स्थायी घर भई हाल काठमाडौंको बनस्थली बस्ने ५० वर्षीय कमल नारायण विश्वासलाई पक्राउ गरिएको हो। उनी नेपाल एयरलाइन्समा विगत १६ वर्षदेखि ग्राउन्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत रहेका छन्।

प्रहरीका अनुसार विश्वास जेठ १८ गते राति करिब ८:३० बजे बाटिक एयरको उडान नम्बरमार्फत मलेसियाको क्वालालम्पुर जान लागेका थिए। विमानस्थलको ब्यागेज स्क्रिनिङ तथा शरीर जाँचका क्रममा उनले लगाएको कालो रङको लगेजमा फल्स बटम (नक्कली तह) बनाएर विभिन्न देशका मुद्राहरू लुकाएर लैजान खोजेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

बरामद मुद्रामा १४ हजार ८५० अमेरिकी डलर, २ हजार ९७० ओमानी रियाल, ३ हजार ५४० पाकिस्तानी रुपैयाँ, २३ हजार ६३२ मलेसियन रिङ्गिट, ७ हजार ७७० श्रीलंकन रुपैयाँ, ४१ हजार जापानी येन, १ हजार पश्चिम अफ्रिकी मिल फ्रान्क तथा ११ लाख नेपाली रुपैयाँ रहेको छ।

विमानस्थल सुरक्षा कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बरामद मुद्राको नेपाली मूल्य ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बराबर रहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले विभिन्न समयमा २६ पटक विदेश यात्रा गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले विदेशी मुद्रा ओसारपसार तथा अवैध वित्तीय गतिविधिविरुद्ध निगरानी थप कडा बनाइएको बताएका छन्।

तपाईको प्रतिक्रिया