काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न आन्दोलन, प्रदर्शन तथा दमनसँग सम्बन्धित घटनामा नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदनहरूको समग्र अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजकाे बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राख्नुभएकाे प्रश्नकाे जवाफमा उहाँले भदाै २३ र २४ गतेकाे घटनासँग सम्बन्धित मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभई विभिन्न कालखण्डमा गठन भएका आयोगका प्रतिवेदनहरू पनि सरकारले अध्ययन गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीका अनुसार विभिन्न समयमा भएका आन्दोलन, र्याली र दमनका घटनाबारे धेरै प्रतिवेदनहरू तयार भएका छन् । अहिलेसम्म नेपाल सरकारलाई बुझाइएका सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरी त्यसका निष्कर्ष र सिफारिशका आधारमा काम कारबाही गरिने उहाँको भनाइ छ ।
प्रधानमन्त्री शाहसँग सांसद केसीले मानव अधिकार आयोगको प्रतिवेदन कार्यन्वयन ल्याउन माग गर्नुभएको थियो ।






