धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ३ स्थित जौटार सामुदायिक वन पछिल्लो समय जडिबुटी संरक्षण, जैविक विविधता प्रवर्द्धन र पर्यापर्यटनको नयाँ केन्द्रका रूपमा विकास हुँदैगएको छ ।
वनभोज र प्राकृतिक सौन्दर्यका लागि परिचित यो वन अब औषधिय गुण भएका वनस्पतिको ‘जिन बैंक’ तथा इको-जोनका रूपमा स्थापित गर्ने योजना अघि बढाइएको छ । उपभोक्ताद्वारा संरक्षित जौटार वनको हरियालीभित्र अहिले पदमचाल, चिराइतो, तेजपात, पाखनवेद, माजितो, लेमनग्रास, वनलसुन, ठूलो ओखती, सुगन्धित, बोकेटिमुर, पटुलासल्ला, पहेालो लहरालगायतका बहुमूल्य जडीबुटी तथा औषधिय वनस्पति संरक्षण र विस्तारको काम भइरहेको छ ।
यी वनस्पति स्थानीय उपचार पद्दतिदेखि आधुनिक औषधि उद्योगसम्म उपयोगी मानिन्छन् । जौटार सामुदायिक वन उपभोक्ता समूहले वनको ‘ब्लक नम्बर-२’ लाई विशेष जडीबुटी संरक्षण क्षेत्र घोषणा गरेको छ । सो क्षेत्रमा घाँस-दाउरा संकलन, जडीबुटी टिप्ने वा वनस्पतिलाई असर पुग्ने कुनै पनि गतिविधि गर्न निषेध छ ।
सामुदायिक वन व्यवस्थापन समितिले दुर्लभ र लोपोन्मुख गुराासका प्रजाति तथा वनस्पतिको दीर्घकालीन संरक्षणका लागि काम गरिरहेको जनाएको छ । विभिन्न वनस्पतिको अध्ययन, वनभोज, संघसंस्थाका विभिन्न कार्यक्रम तथा दृष्यावलोकनका लागि जौटार पुग्ने आगन्तुकले सुविधा र पूर्वाधार सुधारको आवश्यकता रहेको बताएका छन् ।
हिलेबाट जौटारसम्मको कच्ची सडक सुधार, खानेपानी, विश्रामस्थल र जडीबुटी जिन बैंक क्षेत्रमा प्रत्येक वनस्पतिको नाम, उपयोगिता र विशेषता उल्लेख गरिएका सूचना बोर्ड राख्न सके शैक्षिक भ्रमणका लागि समेत थप उपयोगी हुने उनीहरूको सुझाव छ ।
जौटार सामुदायिक वनलाई जडिबुटीको संरक्षण क्षेत्रमात्र नभइ दृष्यावलोकन, वनभोज र वनस्पति अध्ययनका लागि पनि आगन्तुकहरूले प्रयोग गर्दै आएका छन् । उनीहरूको सहजताका लागि कोशी प्रदेश सरकार र पाख्रिबास नगरपालिकाले पनि सहयोग गर्दै आएको छ ।
धनकुटाका ३ सय ८७ सामुदायिक वनमध्येको एक जौटार सामुदायिक वनले दीर्घकालीन आम्दानीका लागि जडिबुटी संरक्षण र पर्यापर्यटनको अभ्यास गरिरहेको छ । जौटार सामुदायिक वनमा जडिबुटी संरक्षण, अनुसन्धान र पर्यापर्यटनको एकीकृत विकास गर्दै स्थानीय समुदायको आयआर्जनसँग जोड्न सकिने सम्भावना देखिन्छ ।
कान्तिपुर टेलिभिजनको सहयोगमा






