सोलुखुम्बुः तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनको महिलातर्फ नेपाल प्रहरीकी प्रहरी जवान लाक्पा निमा शेर्पा प्रथम हुनुभएको छ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविरबाट सुरु भएको ४२ किलोमिटर दूरीको पूर्ण म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै शेर्पाले पहिलो स्थान हासिल गर्नुभएको हो।
इलाका प्रहरी कार्यालय बेलबारी, मोरङ दरबन्दी भई हाल नेपाल प्रहरी शारीरिक संगठन तथा खेलकुद शिक्षालय, महाराजगञ्ज काठमाडौंमा कार्यरत उहाँले निर्धारित दूरी ४ घण्टा ३४ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्न सफल हुनुभएको हो। उहाँको यस उपलब्धिप्रति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बधाई ज्ञापन गर्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेको छ।

महिलातर्फकै प्रतिस्पर्धामा दिलकला कुलुङ ५ घण्टा ३२ मिनेट ३ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो हुनुभएको छ भने आङ दामी शेर्पाले ६ घण्टा २१ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरी तेस्रो स्थान हासिल गर्नुभएको छ।
यस्तै, पुरुषतर्फको अल्ट्रा म्याराथनमा मनकुमार रोका मगर प्रथम हुनुभएको छ। उहाँले अत्यन्त कठिन मानिने उक्त दौड ७ घण्टा ३७ मिनेट ८ सेकेण्डमा पूरा गर्नुभएको हो। मिलन कुलुङले ८ घण्टा १ मिनेट ११ सेकेण्डसहित दोस्रो तथा जंगवीर कुलुङ ८ घण्टा २२ मिनेट २५ सेकेण्डसहित तेस्रो हुनुभएको छ।
विश्वकै उच्च स्थानमा आयोजना हुने यस चुनौतीपूर्ण म्याराथनमा विजेता खेलाडीहरूले साहस, धैर्य र क्षमताको उत्कृष्ट प्रदर्शन गर्दै नयाँ कीर्तिमानसहित सफलता हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया