सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका १ सितलपुर टोल नजिक नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३:१० बजे इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको गस्ती टोलीले उक्त क्षेत्रमा गस्ती गर्ने क्रममा अन्दाजी ४५ देखि ५० वर्ष उमेरका पुरुषलाई बाटो छेउमा मृत अवस्थामा फेला पारेको हो ।
मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनापछि प्रहरीले घटनास्थललाई सुरक्षित राखेको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक सरोज राईको कमाण्डमा सोको टोलीसहित प्रहरी परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कानुनी प्रक्रिया पूरा गरी मंगलबार साँझ ५:५० बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।
मृतकको हातमा लगाएको बालामा ‘जगन राउत’ लेखिएको फेला परेको छ भने खल्तीबाट भारतीय १० रुपैयाँको नोट तथा २ रुपैयाँको सिक्का बरामद भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







