काठमाडौं। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार भएको छ।
हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई ‘डिजिटल’ र व्यवस्थित बनाउने प्रयासस्वरूप राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको जनाएको हो।
विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। “तल्लो तहसम्मै संयन्त्र परिचालन गरेर सेवा विस्तार गरिरहेका छौँ। नागरिकले सरकारी कागजात लिन कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ’, उनले भने।
विभागका अनुसार कार्यक्रम सुरु भएयता हालसम्म २८ हजार १६९ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । तीमध्ये एक हजार ६३५ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ। जिल्ला प्रशासन कार्यालयमा राहदानी आवेदन दिने क्रममा नै सेवाग्राहीको ठेगाना संकलन गर्न थालिएकाले वितरण प्रक्रिया थप सहज बनेको विभागको भनाइ छ।
यातायात सेवामा पनि हुलाक प्रणालीको प्रयोग विस्तार हुँदै गएको छ। जेठ ८ सम्ममा चार लाख ७० हजार ८८१ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयमा पठाइएको छ भने ६७१ वटा लाइसेन्स घरमै पुर्याइएको विभागले जनाएको छ।
सरकारी कागजात वितरणमा मात्र सीमित नरही हुलाक विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग समेत सहकार्य बढाएको छ। हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा ४८८ वटा प्रयोगशाला नमूना ढुवानी गरिएको विभागले जनाएको छ। सुर्खेत, बाँके र काठमाडौँबाट प्रयोगशाला नमूना ढुवानी सेवा सुरु गरिएको हो।
नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड घरमै पु¥याउने सेवा सुरु गर्ने तयारी भइरहेको छ। मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको छ भने नेपाल खुला विश्वविद्यालयसँग शैक्षिक प्रमाणपत्र ढुवानीबारे छलफल जारी रहेको विभागले जनाएको छ।







