जेठ ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लामा विषालु च्याउ सेवन गर्दा एकै परिवारका चार जना बिरामी परेका छन्। बिरामी पर्नेमा गंगा बहादुर बस्नेत, उनकी श्रीमती पशुपति बस्नेत तथा छोराछोरी सञ्जिव र सजिना बस्नेत रहेका छन्।
स्थानीय राजन बस्नेतका अनुसार शुक्रबार साँझ करिब ७ बजेतिर खानासँग जंगलमा उतिसको रुखमा उम्रिएको जंगली च्याउ खाएपछि उनीहरूको स्वास्थ्यमा समस्या देखिएको हो।
च्याउ सेवन गरेको करिब एक घण्टापछि चारै जनामा वान्ता हुने, बेहोस हुने लगायतका लक्षण देखिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो। अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।
हाल तीन जनाको अवस्था सुधारोन्मुख रहेको बताइएको छ भने छोरी सजिनाको अवस्था अझै गम्भीर रहेको र होस नआएको स्थानीयले जानकारी दिएका छन्। चिकित्सकहरूले जंगली च्याउको सही पहिचान बिना सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।







