उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका –१ मेचेडाँगीमा धिमाल समुदायको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको “जात्री/सिरजात प्रथम कार्यक्रम” आज भव्य रूपमा सम्पन्न भएको छ।
मा-लक्ष्मी धिमाल समाज, उर्लाबारी–१ को आयोजनामा सम्पन्न कार्यक्रममा धिमाल समुदायको मौलिक पहिचान, भाषा, संस्कार र संस्कृति झल्किने विविध प्रस्तुति राखिएका थिए। विशेषगरी धिमाल नृत्य तथा दनुवार नृत्यले कार्यक्रमलाई आकर्षक बनाएको थियो।
कार्यक्रमका सभापति टिकाराम धिमालको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि उर्लाबारी–१ का वडा अध्यक्ष तथा कार्यवाहक नगरप्रमुख तिलकबहादुर पाण्डेले यस्ता सांस्कृतिक कार्यक्रमहरूले आदिवासी जनजातिको पहिचान संरक्षणमा महत्वपूर्ण योगदान गर्ने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
विशिष्ट अतिथि धिमाल जाति विकास केन्द्रका कार्यबाहक अध्यक्ष केदार धिमाल, आदिवासी जनजाति उर्लाबारी नगर समन्वय समितिका अध्यक्ष प्रेम याक्खा, नेपाल मगर संघ जिल्ला अध्यक्ष देवराज थापा मगर, उर्लाबारी १ का कार्यवाहक अध्यक्ष गौरीशंकर दाहाल लगायतले शुभकामना मन्तव्य राख्दै आदिवासी जनजातिको भाषा, संस्कार र संस्कृतिको संरक्षणमा राज्यले थप ध्यान दिनुपर्नेमा जोड दिए।
त्यस्तै, धिमाल जाति नगर व्यवस्थापन समिति अध्यक्ष नारायण धिमालले मन्तव्य राख्दै धिमाल समुदायको इतिहास, परम्परा र “जात्री/सिरजात” पर्वको महत्वबारे प्रकाश पारेका थिए। कार्यवाहक नगर प्रमुख पाण्डेले शुभकामना मन्तव्य राख्दै स्थानीय तहले सांस्कृतिक संरक्षणमा आवश्यक सहयोग गर्दै जाने बताएका छन्।
कार्यक्रमको सञ्चालन रामप्रसाद धिमालले गरेका थिए।धिमाल समुदायमा “जात्री/सिरजात” पर्व ऐतिहासिक रूपमा नयाँ वर्ष, उब्जनी, प्रकृतिसँगको सम्बन्ध र सामुदायिक एकताको प्रतीकका रूपमा मनाइने गरिन्छ। यसले समुदायबीच आपसी सद्भाव, सांस्कृतिक निरन्तरता र पहिचान संरक्षणलाई सुदृढ बनाउने बताइएको छ। S

तपाईको प्रतिक्रिया