धनकुटा : धनकुटाको हिलेस्थित श्री नं. २ वाहिनी अड्डामा आयोजित वाहिनीपति ट्रफी–२०८३ सम्पन्न भएको छ । बैशाख २३ गतेदेखि सुरु भएको प्रतियोगिता बिहीबार समापन गरिएको हो । प्रतियोगितामा भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण सर्वाधिक विधामा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट गण घोषित भएको छ ।
नयाँ श्रीनाथ गणले भलिबल, बास्केटबल, फुटबल, एथ्लेटिक्स, बक्सिङ र तेक्वान्दो गरी कुल ६ विधामा प्रथम स्थान हासिल गरेको थियो ।
त्यस्तै धनकुटास्थित श्री भीमदल गणले पौडी र कबड्डीमा प्रथम स्थान हासिल गर्दै दोस्रो स्थान प्राप्त गरेको छ । मोरङस्थित श्री शिवदल गणले जुडो प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नयाँ श्रीनाथ गणलाई वाहिनीपति ट्रफी प्रदान गरिएको छ । साथै विभिन्न खेल विधामा उत्कृष्ट नतिजा हासिल गर्ने गण, गुल्म, खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई ट्रफी, मेडल, प्रमाणपत्र र प्रशंसापत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
श्री नं. २ वाहिनी अड्डा हिलेका अनुसार सैनिक संगठनभित्र सामूहिक भावना, अनुशासन र एस्प्रिट डी कोरको विकास गर्दै राष्ट्रका लागि सम्भावित उत्कृष्ट खेलाडी पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता केवल खेल प्रतिस्पर्धाका लागि मात्रै नभई अनुशासन र सहकार्यको भावना विकास गर्ने उद्देश्यले पनि सञ्चालन गरिएको आयोजकको भनाइ छ । सात दिनसम्म सञ्चालन भएको प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबड्डी, स्वीमिङ र एथ्लेटिक्स गरी नौ विधाका खेल समावेश गरिएको थियो ।







