नेपाली चेलीहरुलाई भिजिट भिसाको आवरणमा घरेलु कामदार बनाएर खाडी मुलुकतिर तस्करी गर्ने गरिएको तथ्य बाहिरिएको छ । पर्यटक भिसामा एउटा मुलुकबाट अर्को मुलुक पुर्याएर घरेलु कामदारको रुपमा राख्ने गरिएको पाइएको हो । सरकारले महिलाहरुलाई घरेलु कामदारका रुपमा खाडी मुलुक पठाउन रोक लगाइएको छ । अत्याधिक श्रम र यौन शोषणको घटना बाहिरिएपछि सरकारले केही वर्षअघिदेखि खाडी जान बन्देज गरेको थियोे ।

तैपनि,अवैध माध्यमबाट घरेलु कामदारका रुपमा खाडी मुलुक जाने क्रम चलिरहेको छ । जसले नेपालको अध्यागमन प्रणाली,विमानस्थल सुरक्षा र राज्यको निगरानी क्षमतामाथि प्रश्न खडा गरेको छ । सरकारको प्रतिबन्धका बाबजुद हालै दुई महिला कुबेत पुगेको घटना सार्वजनिक भएको छ । गंगा बिक र अस्मिता सुनार परियार भिजिट भिसामा काठमाडौंबाट ओमनका लागि उडेका थिए ।

उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट दुबई हुँदै ओमनको मस्कट जाने र स्वदेश फर्किने टिकट देखाए । तर,ओमन गएनन् । दुबई पुगेपछि कुबेतको टिकट काटे । जजिरा एअरवेजको विमानमा कुबेत गए । अझ गम्भीर कुरा त के भने, उनीहरुको कुबेत यात्रा पहिल्यै ‘कन्फर्म’ अवस्थामा थियो । यसले प्रश्न उठाउँछ–यदि उनीहरु ओमन जान नेपालबाट उडेका थिए भने दुबईबाट कसरी कुबेत पुगे ?

उनीहरुको टिकट कसले र किन परिवर्तन गर्यो ? नेपालको अध्यागमनले किन त्यसको निगरानी गर्न सकेन ? पछिल्लो समय भिजिट भिसा मानव तस्करीको सबैभन्दा ठूलो माध्यम बनेको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिबिना घरेलु कामका लागि महिलाहरुलाई खाडी मुलुक पठाउन रोक लगाएको छ । त्यसपछि वैदेशिक रोजगार क्षेत्रका दलालहरुले नयाँ उपाय निकालेका छन्–भिजिट भिसा ।

महिलाहरुलाई पर्यटकको रुपमा नेपालबाट एउटा गन्तव्यमा उडाइन्छ । ‘घुम्न जाँदैछन्’,‘आफन्त भेट्न जाँदैछन्’ भनेर दुबई, मस्कटलगायतका मुलुक पुर्याइन्छ । तर,वास्तविक गन्तव्य अर्कै हुन्छ । कुबेत,साउदी अरबलगायत अन्य खाडी मुलुक पुर्याएर घरेलु कामदारको रुपमा राखिन्छ । पासपोर्ट खोसिन्छ, सम्पर्क विच्छेद गरिन्छ ।

कतिपय महिला यौन शोषणमा पनि पर्ने गरेका छन् । यो मानव बेचबिखनको आधुनिक रुप भएको मानव अधिकारकर्मीहरु बताउँछन् । नेपालको अध्यागमन प्रणाली कमजोर भएकाले यस्तो घटनामा रोक लाग्न नसकेको उनीहरुको भनाइ छ । एक मानव अधिकारकर्मी भन्छन्,‘उनीहरु भिजिट भिसामा गए । तर, फर्किए कि फर्किएनन् ? यो कसले हेर्ने ? फितलो अध्यागमन प्रणालीका कारण यो कार्यमा रोक लाग्न नसकेको हो ।’

यसले नेपालको पासपोर्ट प्रणालीमाथि पनि प्रश्न उठाएको छ । मानव तस्करीविरुद्ध काम गर्ने स्रोतहरु यस्ता नेटवर्क दलालले मात्र चलाउन नसक्ने बताउँछन् । यसमा एजेण्ट, ट्राभल नेटवर्क, भिसा सेटिङ, ट्रान्जिट समन्वय र कतिपय अवस्थामा प्रशासनिक पहुँचसमेत हुन्छ । ‘सामान्य यात्रुले दुबई पुगेपछि अचानक अर्को देशको टिकट काटेर यात्रा गन्तव्य परिवर्तन गर्नु सानो कुरा होइन । यसलाई राज्यले गम्भीर रुपमा लिनुपर्छ’,स्रोतले भन्यो ।

अध्यागमन विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले कुबेतमा घरेलु कामदारका रुपमा जान लगाइएको रोक जारी नै रहेको बताए । उनले भने,‘कुबेतमा रोक लगाएको हो । त्यो जारी नै छ । ट्राञ्जिट बनाएर जाने विषयमा हामी पनि हेर्दै छौं ।’

– जनआस्थाको सहयोगमा

तपाईको प्रतिक्रिया