उर्लाबारी /
उर्लाबारी नगरपालिका वडा नम्बर १ मेचेडाँगीस्थित निर्माणाधीन महाराज ग्रामथानमा आगामी जेठ ४ गते धिमाल समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व जात्री/सिरजात मेला आयोजना हुने भएको छ।
शनिबार विहान मेचेडाँगीस्थित ग्रामथानको सम्पर्क कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमार्फत सो कार्यक्रमबारे जानकारी गराइएको हो । आयोजकले जात्री/ सिरजात मेलाको तयारी तीव्र पारिएको जनाएको छ ।
५७ घर धिमाल समाजका स्वर्गीय मानबहादुर तथा लक्ष्मी धिमालको सम्झनामा प्रदान गरिएको १० धुर जग्गामा ग्रामथान निर्माण भएको हो । उक्त स्थानमा रहेको एक कठ्ठा जग्गामा मेला सञ्चालन गर्न लागिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै मा–लक्ष्मी धिमाल समाजका अध्यक्ष टीकाराम धिमालले मेलामा धिमाल संस्कृति झल्कने विभिन्न कार्यक्रम प्रस्तुत गरिने बताए। “मेलामा रोटेपिङ लगायतका खेल तमासा रहनेछन्, तर प्रतिबन्धित खेल सञ्चालन गरिने छैन,” उनले भने। साथै, धिमाल जाति विकास केन्द्रसहित अन्य जातीय तथा सामाजिक संस्थाहरुलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको उनले बताए ।
सो कार्यक्रम करिब १ लाख ५० हजार रुपैया लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
ग्रामथानको करिब १ कट्ठा जग्गा रहेको र संरक्षणका लागि तारजाली आवश्यक रहेको आयोजकले बताएका छन्।
उर्लाबारीमा करिब १९ टोल समाज सक्रिय रहेको र करिब ६ हजार धिमाल समुदायको बसोबास रहेको धिमाल जाति विकास केन्द्र उर्लाबारीका नगर अध्यक्ष मानबहादुर धिमालले जानकारी दिए। साथै, सो स्थानमा खोल्सीको पानी व्यवस्थापनका लागि जलस्रोत कार्यालय विराटनगरबाट सहयोग प्राप्त भएको र थप आवश्यक परेकोले नगरपालिकासँग माग गरिने उनले बताए।
आयोजकले धिमाल संस्कार विपरीत गतिविधि नगर्न सबैलाई आग्रह गर्दै त्यस्ता कार्यमा संलग्न हुने व्यक्ति वा समूहलाई संस्थागत कारबाही गरिने चेतावनी समेत दिएका छन्। साथै, पर्व सफल पार्न सम्पूर्ण समुदाय तथा सरोकारवालासँग सहयोगको अपेक्षा गरिएको छ।
मा-लक्ष्मी धिमाल समाजका अध्यक्ष टीकाराम धिमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सल्लाहका राम (बाङ्गाई) धिमालले गरेका थिए।
आयोजकले जात्री /सिरजात मेला सभ्य र भव्य रुपमा आयोजना गर्न सम्पूर्ण पक्षहरुसँग आवश्यक सहयोगको अपेक्षा राखेको बताएको छ ।
उर्लाबारी–१ मा धिमाल जात्री/ सिरजात मेला आयोजना हुने







