सर्लाहीको लालबन्दीमा ‘युट्युबर आतंक’ मच्चिएको भन्दै नगरपालिकाले गुनासो गरेको छ ।

नगर क्षेत्रका विद्यालयमा पसेर युट्युबरहरूले अनावश्यक दुःख दिएको नगर प्रमुख वासुदेव अधिकारीले जानकारी दिए । आफूलाई युट्युबर बताउने व्यक्तिहरू पढाइ भैरहेका बेला कक्षा कोठामा अनाधिकृतरूपमा छिरेर दु:ख दिइरहेको मेयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पठन पाठन भैरहेको समयमा भिडियो खिच्ने, अन्तरवार्ता लिने काम गरिएको र यसबाट शैक्षिक गतिविधिमा आँच पुगेको गुनासो नगरपालिकामा आएको विज्ञप्तिमा जनाइएको छ । साथै, भ्रामक खबर सामाजिक सञ्जालमा प्रशारण गरिएको समेत बताइएको छ ।

‘उक्त घटनाले विद्यालयका प्र.अ तथा शिक्षकहरुको मनोबल घटाई शैक्षिक गुणस्तरमा समेत ह्रास आउने देखिएकोले बिनाअनुमति र वास्तविक यथार्थ नबुझी भ्रामक रुपमा सामाजिक सञ्जालमा प्रशारण भएको घटनाको यस नगरपालिकाले समेत आपत्ति जनाउँदै यस्ता गैरकानूनी कार्य कानूनबमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्यप्रति नगरपालिका सम्बन्धित पक्षहरुलाई सचेत गराउँदछ,’ विज्ञप्तिमा उल्लेख छ ।

शैक्षिक गतिविधिलाई शान्तिपूर्ण वातावरणमा सञ्चालन हुने व्यवस्थामा सहयोग गरिदिन पनि मेयर अधिकारीले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया