काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रहरी वृत्त मालीगाउँ, काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक राउतले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलापत्र गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको हो ।

आयोगका अनुसार बैंकिङ कसुर अन्तर्गतको चेक अनादर (चेक बाउन्स) मुद्दामा सहजीकरण गरिदिने बहानामा उनले सेवाग्राहीलाई विभिन्न रूपमा दुःख हैरानी दिँदै २० हजार रुपैयाँ घुस मागेका थिए ।

उजुरीका आधारमा अख्तियारको टंगालस्थित टोलीले उनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट घुस लिएको पुष्टि भएपछि अख्तियारले प्रहरी नायब निरीक्षक राउतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो २० हजार रुपैयाँ कायम गरी कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबीसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया