कास्की – पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन ३५ दिनको सूचना जारी गरेको छ । पृथ्वीचोक बसपार्कका लागि छुट्याइएको जग्गामा दशकौँदेखि बसोवास गरिरहेका सुकुम्वासीलाई हटाउन महानगर कार्यपालिकाको बैठकले यही वैशाख ३ गतेको निर्णयअनुसार ३५ दिने सूचना निकालेको हो ।
२०३२ सालमा पृथ्वीचोकमा २०५ रोपनी जमिनमा बसपार्क बनाउने योजना अघि सारिए पनि ५० वर्षसम्म काम हुन नसक्दा त्यहाँको जमिन अतिक्रमणमा परी अहिले ४७ रोपनीमा खुम्चिएको छ ।
बसपार्कको जग्गामा अहिले ४०० भन्दा धेरै परिवार बस्दै आएका छन् । बसपार्क नबन्दा पृथ्वीचोक क्षेत्रमा यातायात अस्तव्यस्त हुने र लामो जामको समस्या निरन्तर रहँदै आएको छ ।
सुकुम्वासीहरूले भने उचित व्यवस्थापन विना आफूहरूलाई हटाउन नहुने माग गरेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले वडा नम्बर ९ भित्रै वा नजिकको वडामा पहिला पुनर्वास व्यवस्था गरेर मात्र जग्गा खाली गराउनुपर्ने माग गर्नुभएको छ ।







