काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छन्।
सोमबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद् र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदहरूले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको बताएकी हुन्।
मन्त्री गौतमले सांसदहरूले विषय केन्द्रित भएर छलफल गरे मात्रै सरकार त्यसको जवाफ दिन बाध्य हुनेसमेत बताइन्। सरकार सांसदहरूले उठाएका हरेक विषयवस्तुमा संवेदनशील रहेको मन्त्री गौतमको भनाइ थियो।
उनले सरकारबाट स्पष्ट जवाफको अपेक्षा गर्न पनि सांसदहरूले विषयवस्तु केन्द्रित भएर छलफल गर्न आवश्यक रहेको तथ्य पनि स्मरण गराइन्।
मन्त्री गौतमले संसद् र संसदीय समितिको कामलाई प्रभावकारी बनाउनका लागि सांसदहरूले समयसीमालाई पनि ख्याल गर्न जरुरी रहेको बताइन्।







