उर्लाबारी । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा उर्लाबारी नगरपालिका–७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सञ्चार क्लब नेपाल, स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ तथा नगर आप्रवासी श्रमिक सञ्जालको संयुक्त आयोजनामा गरिएको हो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उर्लाबारीले गरेको थियो।
कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। उनले श्रमिकहरूको सम्मान र अधिकार सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताउँदै संगठित भएर आफ्नो आवाज बुलन्द गर्न श्रमिकहरूलाई आग्रह गरिन्।
कार्यक्रमका सभापति स्वतन्त्र निर्माण व्यवसायी मजदुर उर्लाबारीका अध्यक्ष भागिराज खड्का रहेका थिए। सञ्जालका अध्यक्ष सन्तोष दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विशिष्ट अतिथिका रूपमा उर्लाबारी–७ की वडा अध्यक्ष उर्मिला थापा सहभागी भएकी थिइन्।
कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकहरूले यस्ता सामाजिक कार्यले श्रमिकहरूबीच सहकार्य र एकता अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया