मोरङ । मापदण्डविपरीत सञ्चालन र अनधिकृत रूपमा खोला उत्खनन गरेको भन्दै मोरङ जिल्ला प्रशासन कार्यालयले दुईवटा क्रसर उद्योग बन्द गराएको छ । मोरङको चिसाङ खोला किनारमा सञ्चालित लेटाङ नगरपालिकाको माता भगवती क्रसर र बेलबारीको कान्तिपुर क्रसर उद्योगलाई प्रशासनले बन्द गराएको हो ।
विगत १३ दिनदेखि दुवै उद्योगको कामकाज ठप्प पारिएको छ । भीम पौडेल सञ्चालक रहेको माता भगवती क्रसर र अम्बिका गुरागाईं सञ्चालक रहेको कान्तिपुर क्रसरले वातावरणीय प्रभाव मूल्याकंन बिना नै उत्खनन गरेको र उजुरी परेपछि प्रशासनले बन्द गराएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार ती उद्योगहरूका बारेमा व्यापक जनगुनासो र उजुरी परेकाले कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । उद्योगले वास्तविक बिक्री मूल्यभन्दा आधा कम देखाएर बिल काट्ने गरेको र राजस्व छली गरेको सूचनाका आधारमा बिल भर्पाइ र आर्थिक कारोबारका कागजात प्रशासनले नियन्त्रणमा लिएको छ ।
मापदण्डविपरीत सञ्चालित मोरङका दुई क्रसर उद्योग बन्द







