विराटनगर : महिला नेतृत्व, उद्यमशीलता, सीप विकास र डिजिटल नवप्रवर्तनलाई केन्द्रमा राख्दै विराटनगरमा ‘सीएनआई वुमन लिडरशिप समिट २०२६’ आयोजना हुने भएको छ।

नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको आयोजनामा आगामी वैशाख २१ गते विराटनगरमा रहेको होटल मनास्लु इनमा राष्ट्रियस्तरको ‘सीएनआई वुमन लिडरशिप समिट २०२६’हुने भएको हो ।

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल उद्योग परिसंघ महिला नेतृत्व फोरम काठमाडौं तथा सीएनआई कोशी प्रदेश महिला उद्यम समितिको सहकार्यमा आयोजना हुने सम्मेलनले महिला सशक्तीकरण र आर्थिक समृद्धिको नयाँ मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

‘दिगो समृद्धि, कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ भन्ने मूल नारासहित आयोजना हुने यस सम्मेलनमा महिला नेतृत्व विकास, स्थानीय कृषि प्रवद्र्धन, सीप अभिवृद्धि, नवप्रवर्तन र उद्यमशीलताको विस्तारका विषयमा गहन छलफल हुनेछ। साथै, सफल महिला उद्यमीहरूको प्रेरणादायी अनुभव, स्वदेशी उत्पादनहरूको प्रदर्शनी तथा डिजिटल नवप्रवर्तनसम्बन्धी विशेष सत्रहरू पनि आकर्षणका रूपमा रहनेछन्।

सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा आर्थिक, औद्योगिक, बैंकिङ, राजनीतिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

यस सम्मेलनले महिला उद्यमी, नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीहरूबीच सहकार्य, संवाद र नेटवर्किङको महत्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास गरिएको छ। साथै, समावेशी आर्थिक वृद्धि र दिगो विकासका लागि महिला नेतृत्वको भूमिका अझ सशक्त बनाउने लक्ष्य लिइएको छ।

आयोजकका अनुसार सम्मेलन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा सञ्चारकर्मी, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया