काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र आर्थिक कारोबारलाई पारदर्शी बनाउन सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्रै बुझाउन निर्देशन दिएको छ।

विभागले एक सूचना जारी गर्दै इजाजत पत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई बुझाउनुपर्ने प्रचलित कानुन बमोजिमको सेवा शुल्क नगदमा नभई बैंकमार्फत मात्र बुझाउन आग्रह गरेको हो।

कामदारले बैंकमा रकम जम्मा गर्दा प्रयोजन स्पष्ट खुलाउनुपर्ने र त्यसको प्रमाण वा अनलाइन कारोबारको विवरण सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।

नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण जुटाउन कठिन हुने भएकाले म्यानपावरका सञ्चालक, कर्मचारी वा कुनै पनि प्रतिनिधिलाई नगद रकम नदिन विभागले सचेत गराएको छ। यदि, कसैले सूचनाको बर्खिलाप गरी नगद लेनदेन गरे वा गराएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने विभागले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया