दाङ- रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजला आएका तीर्थयात्री चढेको जिप थबाङ र उवाको सिमानामा बिहीबार दिउँसो दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट १६ तीर्थयात्री र एक चालक लिएर उक्त जिप रोल्पाको जलजलातर्फ आउने क्रममा थबाङ गाउँपालिका–१ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा दुर्घटनामा पर्दा जिपमा रहेका सबैको मृत्यु भएको छ।
पानी परिरहेकाले सडक चिप्लो हुँदा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विरेन्द्र विश्वकर्माले जानकारी दिएका छन्।
जिप सडकबाट तल उवातर्फ ८०० मिटर तल खसेको हो।
थबाङबाट प्रहरी टोली र स्वास्थ्यकर्मीहरू घटनास्थलतर्फ गए पनि कसैलाई बचाउन नसकिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनास्थललगायत रोल्पाभर अत्यधिक पानी परेकाले उद्धार र जानकारी प्राप्त हुन कठिनाई भएको प्रहरीले जनाएको छ ।







