सर्लाही, १५ वैशाख — विपन्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिकामा नगरस्तरीय विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ। नगरपालिकाद्वारा आयोजित कार्यक्रममा उपप्रमुख रंजिता चौधरीले अभियानको उद्घाटन गर्दै औपचारिक शुभारम्भ गर्नुभयो।

अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले ८ वटा सामुदायिक विद्यालयलाई ई–रिक्सा हस्तान्तरण गरेको छ। ती ई–रिक्सामार्फत गाउँ–गाउँमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने लक्ष्य राखिएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख मनोज कुमार आचार्यले मधेश प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानबाट प्रेरित भई ईश्वरपुरका सामुदायिक विद्यालयलाई ई–रिक्सा प्रदान गरिएको बताउनुभयो। उहाँका अनुसार हाल ८ विद्यालयमा ई–रिक्सा वितरण गरिएको भए पनि आगामी दिनमा सबै विद्यालयमा विस्तार गरिने योजना रहेको छ।

नगर प्रमुख आचार्यले संस्थागत विद्यालयले बस सेवा सञ्चालन गरिरहेको सन्दर्भमा सामुदायिक विद्यालयले ई–रिक्सा सेवा सञ्चालन गर्नु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो। उहाँले विशेषगरी दलित तथा विपन्न समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

ईश्वरपुर–४ सागरनाथलाई ‘विद्यालय बाहिर कुनै पनि बालबालिका नभएको वडा’ घोषणा गर्न सफल भएको उल्लेख गर्दै आचार्यले यस उपलब्धिले अन्य स्थानीय तहका लागि पनि उदाहरण प्रस्तुत गरेको बताउनुभयो। साथै तीन तहका सरकारबीच कानुनी असमानता रहेको उल्लेख गर्दै नीति तथा कानुनमा एकरूपता आवश्यक रहेको धारणा राख्नुभयो।

ई–रिक्सा प्राप्त गर्ने विद्यालयहरूमा श्री जनता प्राथमिक विद्यालय सागरनाथ (ईश्वरपुर–४), चन्द्रकमारी प्राथमिक विद्यालय धनपट्टीडाँडा (ईश्वरपुर–७), जनता प्राथमिक विद्यालय खोरियाटोल (ईश्वरपुर–९), जनशक्ति प्राथमिक विद्यालय बेला (ईश्वरपुर–१०), जनता माध्यमिक विद्यालय करमोहान (ईश्वरपुर–११), जनता प्राथमिक विद्यालय नयाँटोल (ईश्वरपुर–१२), जनता आधारभूत विद्यालय घाटटाल (ईश्वरपुर–१३) र जनता प्राथमिक विद्यालय हरकठवा (ईश्वरपुर–१४) रहेका छन्।

“पढौं लेखौं फरर, ई–रिक्सामा विद्यालय सरर” भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियानले दुर्गम बस्तीका बालबालिकालाई विद्यालयसम्म ल्याउन सहज हुने अपेक्षा गरिएको शिक्षा शाखा प्रमुख दिनेश लुइँटेलले जानकारी दिनुभयो।

यस अवसरमा शैक्षिक सत्र २०८२ मा अनिवार्य अवकाश प्राप्त शिक्षकहरूलाई सम्मानसमेत गरिएको थियो। अभियानले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षामा जोड्दै साक्षरता दर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया