उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी, उर्लाबारीले उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै उपभोक्तामैत्री निर्णय गर्न ध्यानाकर्षण गराएको छ।
नगर कमिटीका अध्यक्ष निरोज तिम्सिना र सचिव चेतन सिग्देलद्वारा जारी गरि बुझाइएको विज्ञप्तिमा हालै सम्पन्न साधारण सभाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै नगरवासीलाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने जिम्मेवारी निर्वाहमा नयाँ नेतृत्व सक्षम हुने विश्वास पनि व्यक्त गरिएको छ।
एमाले नगर कमिटीले आम उपभोक्ताको भावना र वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै खानेपानी संस्थासमक्ष तीन बुँदे माग अघि सारेको छ। जसअनुसार धारा जडान शुल्कमा न्यूनतम २० प्रतिशत कटौती गर्न, मासिक महशुल दरमा कम्तीमा २० प्रतिशत घटाउन तथा अझै स्वच्छ र गुणस्तरीय पानीको नियमित आपूर्ति सुनिश्चित गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा खानेपानीजस्तो आधारभूत सेवामा सहज, सस्तो र सुलभ पहुँच प्रत्येक नागरिकको अधिकार भएको उल्लेख गर्दै संस्थाले जनभावनाको कदर गर्दै छिट्टै माग सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, खानेपानी संस्थाका कार्यालय प्रमुख राजु बुढाथोकीले वर्तमान खानेपानी अवस्थाबारे जानकारी गराएका थिए भने संस्थाका अध्यक्ष मेघराज श्रीपालीले विषय सकारात्मक रहेको जनाउँदै आगामी बैठकमा प्रस्ताव राखी माग सम्बोधन गर्ने प्रयास गरिने बताएका छन्।
उर्लाबारी खानेपानी संस्थालाई एमालेको ध्यानाकर्षण,शुल्क घटाउन माग






