केदार तिमल्सिना
बनेपा, वैशाख १४ गते । शनिबार दिउँसोदेखि बन्द भएको विपी राजमार्ग खुलेको छ । अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले निर्माणाधीन विपी राजमार्गको अस्थायी डाइभर्सन बगाएपछि शनिबारदेखि राजमार्ग बन्द भएको थियो।
दुई दिनको लगातारको वर्षासँगै रोसी खोलामा पानीको बहाव बढेपछि यातायात सुचारुका लागि चौकीडाँडादेखि नेपालथोकसम्म रोसी खोला किनारमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि यातायात बन्द भएको थियो ।
शनिबार बगाएको डाइभर्सन आइतबार पुनः डाइभर्सन निर्माण गरेर बाढीका कारण मङ्गलटारमा रोकिएका सवारी साधनलाई नेपालथोकतर्फबाट सुरक्षित स्थानमा पठाइएको थियो । शनिबार बगाएको डाइभर्सन आइतबार पुनः बनाइए पनि आइतबार दिउँसो परेको वर्षाका कारण निर्माण गरिएको डाइभर्सन फेरि बगाएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीले राजमार्गको काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडादेखि बोक्सीकुनासम्मको अस्थायी डाइभर्सन बगाएको बताउनुभयो । बाढीले बगाएको स्थानमा सोमबार बिहानैदेखि डाइभर्सन बनाउन सुरु गरिएको अहिले दिउँसो ३ बजेबाट राजमार्ग खुलेको बताउनुभयो ।
डेढ वर्षअघि रोसी खोलामा आएको बाढीका कारण विपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्म २८ किलोमिटर सडक पूर्णरूपमा क्षति भएको थियो । बाढीले काभ्रेपलाञ्चोतर्फ २५.११ किलोमिटर सडकमा क्षति भएको थियो । अहिले क्षति भएको सडकको चार खण्डमा पुनर्निर्माणको काम भइरहेकाले डाइभर्सन सडकबाट याताायत सञ्चालन हुँदै आएको छ।







