काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापित ‘होल्डिङ सेन्टर’मा शनिबार (वैशाख १२) दिउँसोसम्म २३ सुकुम्वासी परिवार पुगेका छन् । उपत्यका विकास प्राधिकरणले उनीहरूको तथ्यांक संकलन गरिरहेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ ।
थापाथली, गैरीगाउँलगायत स्थानबाट सुकुम्वासी होल्डिङ सेन्टरमा पुग्ने क्रम जारी छ । यस्तै, प्राथमिक स्वास्थ्य उपचारका निम्ति काठमाडौं महानगरपालिका–११ को बबरमहल, वडा–३१ को भीमसेनगोला र ३२ नम्बरको पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला राखिएको छ । त्यहाँबाट सामान्य प्राथमिक उपचार प्रदान गरिरहेको सचिवालयले जनाएको छ । “होल्डिङ सेन्टरमा आउनुभएका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ । सरकारले शनिबार बिहानदेखि काठमाडौंका सुकुम्वासी बस्ती हटाउन थालेको छ । वाग्मती नदी किनारका सुकुम्वासी बस्ती खाली गरिएको हो ।






