रौतहट । रौतहटको कटहरिया नगरपालिकामा विद्युत महसुल बक्यौताका कारण नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि नगरपालिकासहित १६ सय परिवारको बिचल्ली भएको छ ।

प्राधिकरणको मौलापुर शाखाले महसुल नतिरेको भन्दै नगरपालिका कार्यालय र वडा नम्बर ५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिदिएपछि पालिकाको प्रशासनिक सेवा र खानेपानी आपूर्ति पूर्ण रूपमा प्रभावित भएको हो ।

यो गर्मी र तातो हावा (लु) चलिरहेको समयमा खानेपानीको लाइन काटिएपछि कटहरिया ४ र ५ का स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ । तीन दिनदेखि धारामा पानी नआउँदा पिउने पानीको समेत अभाव भएको स्थानीयले गुनासो गरेका छन् ।

विद्युत प्राधिकरणको टोलीले तीन दिनअघि नै खानेपानी समितिको मिटर निकालेर लगेपछि नगर क्षेत्रमा हाहाकार मच्चिएको हो । नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख उमेश दासका अनुसार पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम भुक्तानी नभएपछि लाइन काट्नु परेको हो ।

उनका अनुसार खानेपानी उपभोक्ता समितिले ३ लाख ५१ हजार ४०० रुपैयाँभन्दा बढी र नगरपालिका कार्यालयले ७३ हजार रुपैयाँ बक्यौता रकम तिर्नु छ । लाइन काटिएपछि नगरपालिकाका जनप्रतिनिधिहरूबीच नै अहिले आरोप प्रत्यारोप सुरु भएको छ ।

वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहाले मेयर अजय प्रकाश जयसवालको चरम लापरवाहीका कारण जनताले सास्ती भोग्नुपरेको आरोप लगाएका छन् । यता खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले भने यसको दोष नगरपालिकालाई दिएका छन् ।

मेयर जयसवालले चुनावका बेला र त्यसपछि पनि ‘नगरमा पानी नि:शुल्क’ गर्ने घोषणा गरेकाले उक्त महसुलको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्ने साहको तर्क छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माध्वेन्द्र चौधरीले पालिकाको नाममा रहेको ७३ हजार रुपैयाँ बक्यौता दुई दिनभित्र तिरेर प्रशासनिक सेवा सुचारु गर्ने प्रतिबद्धता जनाए ।

तर, खानेपानी समितिको १३ लाखभन्दा बढीको महसुल भने पालिकाले तिर्न नसक्ने उनले स्पष्ट पारे । यसले गर्दा खानेपानीको समस्या तत्काल समाधान हुने संकेत देखिएको छैन । गर्मीमा पानी पिउनबाट वञ्चित गराइएको भन्दै स्थानीय उपभोक्ताहरू आक्रोशित भएका छन् ।

उनीहरूले तत्काल विद्युत जडान गरी पानी आपूर्ति सुचारु नगरे नगरपालिका कार्यालय घेराउ गर्ने र कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । हाल नगरपालिकाको सेवा प्रभावित हुँदा सेवाग्राहीहरू निराश छन् भने नगरवासीहरू खानेपानीका लागि वैकल्पिक स्रोतको खोजीमा भौँतारिरहेका छन् ।

तपाईको प्रतिक्रिया