विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरले प्रशिक्षणरत प्रहरी जवानहरूलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले सामुदायिक प्रहरि सेवा केन्द्रसँग समन्वय गरी अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरेको छ।
तालिम केन्द्रद्वारा जारी सूचनाअनुसार आधारभूत तालिम (४–८२ समूह) अन्तर्गत २१० जना प्रशिक्षार्थीलाई विराटनगर–तीनपैनीस्थित सामुदायिक सेवा केन्द्रमा अवलोकन भ्रमण गराइएको हो। कार्यक्रम २०८२ वैशाख ३ र ४ गते दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा वैशाख ३ गते दिउँसो ३:०० बजे १०५ जना प्रशिक्षार्थी सहभागी भएका थिए भने दोस्रो चरणमा वैशाख ४ गते दिउँसो १:०० बजे थप १०५ जना प्रशिक्षार्थी सहभागी हुने ।
प्रहरी र समुदायबीचको सहकार्य, समन्वय तथा सम्बन्धलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको तालिम केन्द्रले जनाएको छ। कार्यक्रम सफल बनाउन आवश्यक सहजीकरणका लागि सम्बन्धित निकायलाई अनुरोध समेत गरिएको थियो।
कार्यक्रमको सभापतित्व सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना जोशीले गरेकी थिइन्। कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार हरु समाजसेवी तथा उद्योगपति चम्पालाल राठी, कानुनी सल्लाहकार अधिवक्ता सुनिल कर्ण, एलिशा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक हरि प्रसाईं, सह–सचिव हिरा थापा मगर तथा कोषाध्यक्ष सन्तोष बाहेती (माइकल) लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, कोशी प्रदेश प्रहरी तालिम केन्द्रबाट असई पर्शुराम बस्नेत र असई सूर्य बोस राई सहभागी भएका थिए। कार्यक्रम सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव भोजराज घिमिरेले गरेका थिए भने उनले सहभागीहरूलाई स्वागत गरेका थिए।
कार्यक्रमका क्रममा अध्यक्ष मीना जोशीले संस्थाको परिचय तथा सञ्चालन विधिबारे जानकारी गराएकी थिइन्। सामुदायिक प्रहरी सेवा केन्द्रकी वरिष्ठ हल्दार तारा अधिकारीले कार्यालय सञ्चालन, दर्ता–चलानी तथा प्रशासनिक प्रक्रियाबारे प्रशिक्षण दिएकी थिइन्।
तालिममा सहभागी प्रशिक्षार्थीका तर्फबाट अनु बुढाथोकीले अवलोकन भ्रमणबाट सामुदायिक प्रहरी सम्बन्धी महत्वपूर्ण ज्ञान प्राप्त भएको अनुभव व्यक्त गरिन्।
समन्वयका लागि प्रहरी सहायक निरीक्षक रमेश खनाललाई सम्पर्क व्यक्ति तोकिएको तालिम केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया