विराटनगर । सीमावर्ती शहर विराटनगरलाई ट्रान्जिट बनाएर मौलाउँदै गएको अवैध वित्तीय कारोबारविरुद्ध सशस्त्र प्रहरीले निर्णायक एक्सन लिएको छ। बिहीबार दिउँसो विराटनगर–१५ स्थित दुई नम्बर ढाटमा सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

सीमा सुरक्षा गुल्म (रानी) का डीएसपी तिलकबहादुर खड्काको नेतृत्वमा खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको बीआर ३८ एनएन १४३८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। सो क्रममा मोटरसाइकल चालक भारत, बिहार अररिया निवासी ३० वर्षीय आनेशकुमार चौधरीको साथबाट लुकाइछिपाइ ल्याइएको ५ लाख १ सय १५ रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद रकम अवैध हुण्डी कारोबारसँग जोडिएको आशंका गरिएको छ। चौधरीले रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरीले पक्राउ परेका चौधरी, नगद र मोटरसाइकलसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ।

प्रहरीका अनुसार इन्स्पेक्टर कविन राईको नेतृत्वमा यस घटनासँग सम्बन्धित सञ्जालको जरोसम्म पुग्ने गरी अनुसन्धान अघि बढाइएको छ। खुला सीमाको फाइदा उठाउँदै हुण्डी तथा अवैध धन ओसारपसारका घटना बढ्दै जाँदा सुरक्षा निकायका लागि चुनौती थपिँदै गएको छ।

तपाईको प्रतिक्रिया