हुम्ला।कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुगा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूलारठूला ढुंगा थुप्रिएका छन्।

पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुंगा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार “ठूला ंगा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन। ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ।’

उनका अनुसार विस्फोटका लागि आवश्यक तयारी भइरहे पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ दिएन भने सडक सञ्चालनमा ल्याउन करिब एक साता अझै लाग्न सक्ने देखिएको छ। यसको लागि आवश्यक बजेटको समेत व्यवस्थापन गर्नुपर्ने भएको छ। यद्यपि आयोजना कार्यालयले सडक खुलाउन निरन्तर काम गरिरहेको छ।

पहिरोका कारण सडकबाट नियमित आवतजावत गर्न नसकेपछि यात्रु जोखिम मोलेर वैकल्पिक बाटो अर्थात् सडकको भीरतर्फ डोरी लगाएर भर्याङ बनाई यात्रु वारपार गरिरहेका स्थानीय कमल बुढाले बताए।

ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले निकै कठिनपूर्ण यात्रा गरेर सिमकोट पुगेको सुनाए। उनले भने, ‘जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरोकारवाला निकाससँग सम्पर्क गर्दा उपाय नलागेपछि हामीले अन्तिम विकल्पको रुपमा भर्याङ लगाएर डोरीको सहायतमा भीर छिचोलेर सारै कष्टकर र जोखिम यात्रा झेलेर सदरमुकाम सिमकोट पुगेका हौँ।’

सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको जनाउँदै जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीरबाट आवतजावत नगर्न आग्रहसमेत गरे।

शुक्रबार दिउँसो सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मानसरोवर दर्शन गर्न जाने यात्रु अलपत्र परेका छन्।–रासस

तपाईको प्रतिक्रिया