त्रिवेणी। रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ।
राष्ट्रिय बहाई समुदाय नामक संस्थाले सानीभेरी ४ का १५ जना बालबालिकालाई १० दिने नैतिक शिक्षा सिकाउने भनी बर्दिया लैजान लागिएका बालबालिकाको आज बिहान उद्धार गरिएको हो।
गाडीमार्फत लैजान लागिएका उनीहरूलाई वडाको स्यालबासे भन्ने स्थानबाट बिहान ७ बजेतिर सानीभेरी गाउँपालिकाको पहलमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएको गाउँपालिकाका बालकल्याण अधिकारी मानवीर ओलीले जानकारी दिए।
उनका अनुसार १५ जना बालबालिकालाई सम्बन्धित अभिभावकको लिखित मन्जुरी नलिइ, वडा कार्यालयसँग कुनै पनि समन्वय नगरी तथा गाउँपालिकामा कुनै जानकारी नगराइ गैरकानुनी रूपमा बर्दिया लैजाँदै गरेको अवस्थामा वडा नं ४ समेतको समन्वयमा प्रहरीले उद्धार गरेको हो।
पालिकाका बालकल्याण अधिकारी ओलीको सहजीकरणमा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। पन्ध्र जना बालबालिकामध्ये नौ जना बालक र छ जना बालिका रहेका ओलीले जानकारी दिए। तीमध्ये १३ वर्षदेखि १७ वर्षसम्मका बालबालिका रहेका उनको भनाइ छ।
कुन प्रयोजनका लागि लैजान लागिएको हो, कानुनी प्रक्रिया किन पूरा गरिएनलगायत विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।







