राजविराज । कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रको एक तलाउमा घोघी टिप्न गएकी एक महिला डुबेर बेपत्ता भएकी छन्। घटनापछि स्थानीयवासी तथा सुरक्षा निकायको टोलीले खोजी कार्य तीव्र पारेको छ।
बेपत्ता हुने महिला कञ्चनरुप नगरपालिका–५ की सूर्तीदेवी सरदार रहेको स्थानीयले बताएका छन्। सप्तकोशी नगरपालिका–८ स्थित आरक्षभित्रको तलाउमा करिब १० जनाको समूहमा घोघी टिप्न गएकी उनी अचानक गहिरो पानीमा परेर बेपत्ता भएको जनाइएको छ।
साथै सोही घटनामा सुकमैनी देवी सरदारलाई बेहोस अवस्थामा उद्धार गरिएको छ र उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।
घटना दिउँसो करिब १:३० बजे भएको हो। सूचना पाएलगत्तै प्रहरी चौकी फत्तेपुरबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। त्यसैगरी सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि खोजीमा परिचालन गरिएको छ।
गोताखोरसहित सुरक्षा निकायले तलाउ र आसपासको क्षेत्रमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साँझसम्म पनि बेपत्ता महिलाको अवस्था अज्ञात रहेको छ।
स्थानीयका अनुसार आरक्ष क्षेत्रका यस्ता तलाउहरू जीविकोपार्जनका लागि प्रयोग गरिए पनि जोखिमपूर्ण हुने गरेका छन्।







