पोखरा / पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म आवतजावत गर्ने हवाई यात्रुहरूलाई सहज, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको निःशुल्क सटल बस सेवाको सञ्चालन लागत कामना सेवा विकास बैंकले व्यहोर्ने भएको छ।
महानगरपालिकाले वडा नं. १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म दैनिक दुई वटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो।
बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने उक्त बस सेवाले यात्रुहरूलाई मुख्य सडकसम्म पुग्न सहज बनाउनेछ। हाल विमानस्थलदेखि मुख्य सडकसम्म करिब २ किलोमिटर दूरी पैदल वा अन्य माध्यमबाट तय गर्नुपर्ने बाध्यता रहेकोले यात्रुहरूलाई असुविधा हुँदै आएको थियो।
महानगरपालिकाले २०८३ असार मसान्तसम्म सम्पूर्ण यात्रुहरूलाई निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। उक्त बस सेवाको सञ्चालन लागत खर्च कामना सेवा विकास बैंकले समेत व्यहोर्ने सहमति भएको छ।
सम्झौताअनुसार पोखरा महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र कामना सेवा विकास बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख शिवकुमार ढकालले लागत साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख ढकालले स्थानीय सरकारद्वारा जनहितका लागि सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूमा बैंकले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
महानगरपालिकाका प्रशासकीय अधिकृत पोखरेलले निःशुल्क सटल बस सेवा सञ्चालनमा सहयोग पुर्याएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद ज्ञापन गरेका छन्।







