सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा ग्यास लिक भएर आगलागी हुँदा लाखौँको क्षति भएको छ । आगलागीबाट पिलरको खम्बा, टाटीबेरा र जस्ताको छानो भएको चार कोठे मुख्य घर, गोठ तथा भान्सा घर पूर्णरूपमा जलेर जलेर नष्ट भएको छ ।
नगरपालिकाको वडा नम्बर १ भारदह टोलका धर्मदेव दासका चार छोराहरू अनिल दास, सुनिल दास, दिलिप दास र अरविन्द दासको संयुक्त घरमा शनिबार बिहान करिब ७ बजे कोशी ग्यास लिक भई आगलागी हुँदा २४ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलागीबाट नगद तीन लाख ५० हजार, फर्निचर दुई लाख ५० हजार, चाँदी ७० तोला, सुन २ तोला, खाद्यान्न, लत्ता कपडा लगायत सामाग्री नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
आगो प्रहरी, स्थानीयवासी र नगरपालिकाको दमकलको सहयोगमा आगो करिब एक घण्टापछि बिहान ८ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।







