जयकृष्ण यादव

इनरुवा, चैत २७ गते । सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको को २१ प १४९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको नगद बरामद भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र पछाडि सवार भारत सुपौल जिल्ला छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । प्रहरीका अनुसार यादवको साथबाट नेपाली पाँच लाख एक हजार ५०५ रुपैयाँ र भारतीय पाँच हजार ३५० रुपैयाँ बरामद भएको छ ।

यस्तै, मुखियाको साथबाट नेपाली एक लाख ४७ हजार २०५ रुपैयाँ र भारतीय सात हजार ६०० रुपैयाँ फेला परेको छ । दुवै जनाबाट जम्मा नेपाली ६ लाख ४८ हजार ७१० रुपैयाँ र भारतीय १२ हजार ९५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया