अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै, इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्ने सर्तमा दुई हप्ताका लागि बम विस्फोट र आक्रमण स्थगन गर्न आफू सहमत भएको बताएका छन् । ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो।
उनले भनेका छन्, “हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ। दुई देशबीचका सबै विवादास्पद मुद्दामा सहमति भएको छ। सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न अर्को दुई हप्ता आवश्यक हुनेछ।”
इरानले पनि युद्धविरामको पुष्टि गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको राजधानी इस्लामाबादमा थप वार्ता हुने जनाएको छ।
इरानले होर्मुज स्ट्रेट दुई हप्ता खुला गरिने जानकारी दिँदै यस अवधिमा आफ्ना नागरिकलाई राष्ट्रिय एकता कायम राख्न र पूर्ण शक्तिका साथ विजय मनाउन आग्रह गरेको छ।
मेहर समाचार एजेन्सीका अनुसार यो सम्झौता पाकिस्तानको मध्यस्थतामा भएको हो। युद्धविराम सम्झौता देशका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीले अनुमोदन गरेका छन्।
इरानले यो सम्झौतालाई आफ्नो विजयका रूपमा वर्णन गरेको छ। इरानको विज्ञप्तिमा भनिएको छ, “स्थायी शान्ति सम्झौताका लागि थप वार्ता अब पाकिस्तानको राजधानी इस्लामाबादमा हुनेछ।” यसैबीच, इजरायल पनि दुई हप्ताको युद्धविराममा सहमत भएको छ। ह्वाइट हाउसका एक अधिकारीले यस अवधिमा इजरायलले इरानमा आक्रमण नगर्ने बताएका छन्।







