उर्लाबारी । पथरी शनिश्चरे नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई निश्चित पसलबाट पुस्तक तथा स्टेशनरी खरिद गर्न बाध्य नबनाउन निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालयबाट २०८२ चैत १६ गते जारी सूचनामा केही विद्यालयहरूले अभिभावकलाई तोकिएको पुस्तक पसलबाट मात्र पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री खरिद गर्न दबाब दिएको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ। साथै, विद्यालयको गतिविधिसहित छापिएका कापी अनिवार्य रूपमा खरिद गर्न बाध्य बनाइएको विषयमा पनि ध्यानाकर्षण भएको जनाइएको छ।
नगरपालिकाले यस्तो कार्य प्रचलित शिक्षा ऐन तथा नियमावली, २०५९ (संशोधनसहित) को नियम ३७ को उपनियम (२) विपरीत हुने स्पष्ट पारेको छ। सोही कारण यस्ता गतिविधि तुरुन्त बन्द गर्न सम्बन्धित विद्यालयहरूलाई सचेत गराइएको हो।
सूचनामा उल्लेख गरिएअनुसार भविष्यमा यस्ता कार्य दोहोरिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
उक्त सूचना शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नविन खुलालद्वारा जारी गरिएको हो। साथै, सूचना प्रविधि शाखालाई नगरपालिकाको आधिकारिक पेजमार्फत जानकारी सार्वजनिक गर्न समेत भनिएको छ।
विद्यालयलाई पुस्तक–स्टेशनरी खरिदमा बाध्यता नलगाउन पथरी शनिश्चरे नगरपालिकाको निर्देशन







