काठमाडौं : जेनजी आन्दोलनका क्रममा भएको सरकारी र निजी सम्पतिमा तोडफोड र आगजनीमा संलग्न भएकाहरू धमाधम कारबाहीमा पर्न थालेका छन् ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । दोस्रो दिनको आन्दोलनका क्रममा सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति भवन सितलसहित देशका महत्वपूर्ण सरकारी सम्पति र निजी सम्पतिमा समेत तोडफोड र आगजनी भएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेकाअनुसार उक्त आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा ९६३ जना समातिएका छन् । उनीहरू देशभरबाट पक्राउ परेका हुन् । ९३३ वटा मुद्दा नै दर्ता भइसकेको छ ।
प्रहरी प्रवक्ता काफ्लेले भनेका छन्, ‘भदौ २४ गतेको सन्दर्भमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा ९६३ जना समातिएका छन् । ९३३ वटा मुद्दा दर्ता भएको छ । कैयन पुर्पक्षका लागि थुनामा रहेका छन् ।
पक्राउ परेकामध्येहरूउपर ठूलो संख्यामा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएको छ । करिब ७ सय जनाविरुद्ध यही कसुरमा मुद्दा दर्ता भएको छ भने २० जनामाथि कर्तव्य ज्यानको अभियोग लगाइएको छ । अन्य अभियुक्तहरू विभिन्न फौजदारी कसुरमा अनुसन्धानको दायरामा छन् ।
यसमा काठमाडौं उपत्यकामा भएको आन्दोलनमा सहभागीहरू धेरै छन् । काठमाडौँ उपत्यकामा मात्र ३७९ वटा मुद्दा दर्ता भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन वटा जिल्लाबाट ४२० जना पक्राउ परेका छन् ।
काठमाडौँबाट मात्रै ३४७ जना पक्राउ परेका छन् । उनीहरूविरुद्ध आपराधिक उपद्रवसँगै चोरी, अभद्र व्यवहार, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगजस्ता मुद्दा दर्ता भएका छन् । ललितपुरमा ११४ वटा मुद्दा दर्ता भएका छन् भने ३१ जना पक्राउ परेका छन् । भक्तपुरमा ५६ वटा मुद्दामा ४२ जना पक्राउ परेका छन् ।
२४ भदौमा भएको आन्दोलनका क्रममा काठमाडौं उपत्यकाबाहिर समेत तोडफोड र आगजनी भएको थियो । ३५ जिल्लामा तोडफोड र आगजनी भएको विवरण छ ।
देशभरबाट पक्राउपरेकाहरू उपर प्रहरीले बिभिन्न १३ प्रकारका कसुरमा मुद्दा दर्ता गरेको छ । तीमध्ये आपराधिक उपद्रवका ८०२ मुद्दा छन् । कर्तव्य ज्यानका ४, हतियार तथा खरखजनाका ३०, अभद्र व्यवहारका ३३, ज्यान मार्ने उद्योगका ४, डाँका तथा चोरीका ३९ र आगजनी तथा तोडफोडका ४ मुद्दा दर्ता भएका छन् । अन्य केही कसुरहरू पनि समावेश छन् । डाँका तथा चोरीमा ७८ जना, हतियार सम्बन्धी कसुरमा ६७ जना र अभद्र व्यवहारमा ५९ जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये २१० जना पुर्पक्षका लागि थुनामा पठाइएको थियो । तीमध्ये १९ जना छुटेका छन् भने १९१ जना थुनामै छन् ।
भदौ २३ र २४ गतेको आन्दोलनका घटनाको सन्दर्भमा छानबिन आयोग गर्न अघिल्लो सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले भदौ २३ गतेको घटनामा कारबाही गर्न सिफारिस गरेको छ । सोही सन्दर्भमा नयाँ सरकार गठन भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
तर, आयोगले भदौ २४ बारे अनुसन्धान गर्न नभ्याइएको भनेर छुट्टै अनुसन्धान गर्न सुझाएको छ ।
– साभार मध्यान्न दैनिकका लागी दिवाकर अधिकारीबाट







