विराटनगर चैत्र २०
सुजाता राई
विराटनगर / साहित्यकार ,समाजसेवी , प्रशाशक, बैङ्किग विज्ञ, प्रभुप्रसाद पराजुलीद्वारा लिखित आत्मवृत्तान्त आफ्नै कथा, आफ्नै व्यथा र प्रबुद्ध पराजुलीद्वारा लिखित कृति Life Genisis को विराटनगरको आर के पार्टी प्यालेसमा शुक्रबार लोकार्पण गरियो। एउटै मञ्चमा लोकार्पित कृतिका लेखक हजुरबुबा र नाति हुन् । उक्त कृतिको विमोचन प्रमुख अतिथि कोशी प्रदेशकाआर्थिक मामिला मन्त्री विदुरप्रसाद लिङ्थेपलगायतका स्रष्टाहरूले गरेका थिए । उनले भने दुई पुस्ताका सर्जकको सिर्जनात्मक कृति सार्वजनिक हुनु गौरवको कुरा हो ।
लोकार्पण गरिएको आफ्नो कथा,आफ्नै व्यथा कृतिमाथि समालोचक प्राध्यापक कविराज न्यौपाने र विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष ,साहित्यकार प्राज्ञ विवश पोखरेलले समीक्षा गरेका थिए । कृतिमा ८४ वर्षीय स्रष्टा पराजुलीका जीवनका विविधता प्रतिबिम्बित भएको
र यो कृति समाजलाई बुझ्ने र नयाँ पुस्तालाई प्रेरणा दिने कृति रहेको धारणा समीक्षकहरूको थियो ।
लेखककी जेठी सुपुत्री इन्दिरा रिजाल, र कान्छी सुपुत्री कविता मैनाली , र ज्वाइँद्वय जनकप्रसाद रिजाल, दीर्घराज मैनालीले पिता प्रभुप्रसाद पराजुली र माता हिमादेवी पराजुलीको ८४औँ जन्मवर्षको अवसरमा उक्त कृति प्रकाशन गरेका हुन् । कृतिमा लेखकको जीवनयात्राका संघर्ष, सफलता–असफलता र अनुभूतिहरूलाई इमान्दारीपूर्वक प्रस्तुत गरिएको छ । “यो व्यक्तिगत कथामात्र होइन, समय र समाजको प्रतिबिम्ब पनि हो,” कृतिबारे कार्यक्रमकि अध्यक्ष इन्दिरा रिजालले भनिन् !
६१४ पृष्ठ रहेकोआफ्नो कथा आफ्नै व्यथा’ मा तराईदेखि पूर्वी पहाडसम्मको सामाजिक परिवेश, मानवीय मूल्य, सामाजिक सेवा र राष्ट्रिय चेतनाका विविध आयाम र पराजुलीका साहित्यिक सिर्जना कविता , गीत , गजल , भजन समेटिएका छन् । कार्यक्रममा लेखक पराजुलीले कृति सिर्जनाका रचनागर्भसँगै आफ्ना केही कविता, गीत, गजल, भजन वाचन गरेका थिए ।
युवा लेखक प्रबुद्ध पराजुलीको कृति भने पृथ्वीको उत्पत्ति, जीवनको विकासक्रम र जैविक विविधताको अध्ययनमा केन्द्रित छ। उनले कृतिमार्फत पृथ्वी र प्रकृतिप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको बताए । “पाँचदेखि दस महिनाको अध्ययन, अनुसन्धान र पारिवारिक सहयोगबाट कृति तयार भएको हो,” उनले जानकारी दिए ।
प्रबुद्धका पिता डा. पराक्रम पराजुलीका अनुसार कृतिमा करिब चार अर्ब वर्षअघिको पृथ्वीको इतिहासदेखि मानव विकासक्रम र जीवहरूको विलुप्तिसम्मका विषय समेटिएका छन् । साथै, वर्तमान प्रदूषण र मानवीय गतिविधिका कारण सम्भावित छैटौं सामूहिक विलुप्तिबारे चेतावनीसमेत प्रस्तुत गरिएको छ ।
कार्यक्रममा समाजसेवी सुरेशकुमार शर्मा, साहित्यकार गोकुल अधिकारी , र कवि दिनेशराज सुवेदी, दीर्घराज प्रसाइले प्रभु पराजुलीको जीवन र सामाजिक योगदानबारे प्रकाश पारेका थिए।
कार्यक्रममा साहित्यकार, प्राध्यापक, कलाकार, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।







