मध्यपूर्वमा चलिरहेको युद्धका क्रममा कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेशनले मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको बताएको कुवेतको सरकारी समाचार एजेन्सी कुनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणपछि आगलागी भएको र आपत्कालीन प्रतिक्रिया टोलीहरूले स्थिति नियन्त्रणमा ल्याएका कम्पनीले बताएको छ । कम्पनीले यो आक्रमणलाई दुर्भावनापूर्ण भनेर वर्णन गरेको छ ।

मिना अल–अहमदी तेल प्रशोधन केन्द्र मध्यपूर्वको सबैभन्दा ठूलोमध्ये एक हो । यसले दैनिक झन्डै ३ लाख ४६ हजार ब्यारेल तेल प्रशोधन गर्न सक्छ ।

यसैबीच मध्यपूर्वमा चलिरहेको द्वन्द्व थप उग्र बन्दै जाँदा इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य कारबाहीको चेतावनी दिनुभएको केही घण्टामै यो आक्रमण भएको हो ।

झन्डै एक महिनाअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि शुरू भएको यो युद्धले अहिले व्यापक प्रतिशोधको चक्र सिर्जना गरेको छ । द्वन्द्वले मध्यपूर्वभर फैलिँदै विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पारिरहेको छ । विशेषगरी ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग इरानले अवरुद्ध गरेपछि ऊर्जा बजारमा ठूलो दबाव परेको छ ।

दुवै पक्षले अब सैन्य मात्र नभई आर्थिक र औद्योगिक संरचनालाई लक्षित गर्न थालेपछि विश्वव्यापी ऊर्जा आपूर्ति र आपूर्ति शृङ्खलामा गम्भीर अवरोधको चिन्ता बढेको छ ।

विश्व बैंकले यस अवस्थाले मुद्रास्फीति, रोजगारी र खाद्य सुरक्षामा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिएको छ ।

कूटनीतिक तहमा पनि तनाव कायम छ । हर्मुज जलमार्ग खुलाउने विषयमा बेलायतले झन्डै ४० वटा देशलाई एकजुट गराएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदमा जलमार्ग सुरक्षाका लागि सैन्य बल प्रयोगबारे आजका लागि मतदान तय भएको थियो, तर ‘गुड फ्राइडे’ सार्वजनिक बिदाका कारण अन्तिम समयमा मतदान स्थगित भएको छ । मतदानको नयाँ मिति घोषणा भएको छैन ।

तपाईको प्रतिक्रिया