विराटनगर । विराटनगरको एउटा कोठामा छापा हानेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१६ स्थित अजयकुमार रायको कोठामा बिहीबार साँझ प्रहरीले छापा हानेको हो । त्यस क्रममा २२ वर्षीय अजय र मोरङको ग्रामथान गाउँपालिका–६ का २३ वर्षीय निरञ्जन माझी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले छापा हान्दा अजयको कोठाबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) २ ग्राम ९१० मिलिग्राम बरामद भएको थियो । कोठाबाट लागुऔषध बरामद भएपछि अजय र उनीसँगै रहेका निरञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ । घटनाको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया