अमरराज नहर्की
तनहुँ, चैत २० गते । तनहुँका २२ वटै परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ । छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएपछि जिल्लाभर सोहीअनुसार कार्य अघि बढाइएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका सूचना अधिकारी भरत बरालका अनुसार प्रत्येक उत्तरपुस्तिका तीन दिनभित्र परीक्षण सम्पन्न गर्ने गरी व्यवस्थापन मिलाइएको छ । उत्तर पुस्तिका परीक्षणका लागि फरक–फरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । परीक्षण कार्यलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको इकाइले जनाएको छ । यस कदमले नतिजा प्रकाशनमा हुने ढिलाइ घट्नुका साथै मूल्याङ्कन प्रक्रियामा विश्वसनीयता थप बढ्ने अपेक्षा गरिएको केन्द्रले जनाएको छ ।

यस वर्ष तनहुँ जिल्लाबाट कूल ६ हजार १५५ परीक्षार्थी एसइईमा सहभागी भएका छन् । जिल्लाका १७४ सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीका लागि २२ परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको हो । परीक्षार्थीमध्ये नियमिततर्फ ४ हजार ९४० र ग्रेडवृद्धितर्फ एक हजार २१५ जना रहेका छन् । व्यास नगरपालिकाभित्र निर्मल मावि, जलदेवी मावि, सत्यवती मावि, बालमन्दिर मावि, महर्षि वेदव्यास संस्कृत मावि र चण्डीदेवी राष्ट्रिय माविलगायतका विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यसैगरी देवघाट, बन्दीपुर, आँबुखैरेनी, खैरेनीटार, दुलेगौंडा, भिमाद, ऋषिङ र घिरिङ क्षेत्रका विद्यालयहरूमा केन्द्र कायम गरी जनशक्ति परिचालन गरिएको छ ।

प्रत्येक केन्द्रमा दुई जना विषय विशेषज्ञबाट उत्तरपुस्तिका जाँच भइरहेको र पारदर्शिताका लागि सम्परीक्षकको समेत व्यवस्था गरिएको सूचना अधिकारी बरालले बताउनुभयो । जाँच्ने र जाँचेको पुनः जाँच्ने दुवै प्रक्रियाका लागि शिक्षकलाई पूर्वप्रशिक्षण दिइएको छ ।

प्राविधिक धारतर्फका परीक्षार्थीका लागि व्यास–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ भने पुरानो पाठ्यक्रमअनुसार ग्रेडवृद्धि दिने परीक्षार्थीका लागि निर्मल माध्यमिक विद्यालयमा व्यवस्था मिलाइएको छ । देवघाटस्थित महेश संस्कृत गुरुकुल केन्द्रबाट विभिन्न गुरुकुलका विद्यार्थी तथा ‘माँ कल्याणी वैदिक कन्या गुरुकुल’ का परीक्षार्थीहरूले पनि परीक्षा दिइरहेका छन् । बरालले भन्नुभयो, ‘‘छिटो नतिजा प्रकाशन हुने व्यवस्थाले नयाँ शैक्षिक सत्र वैशाखमै सञ्चालन गर्न सहज हुने छ । ढिलो नतिजाका कारण बढ्दै गएको ब्रिज कोर्स र ट्युशन केन्द्रतर्फको निर्भरता समेत यस व्यवस्थाले स्वतः घट्ने देखिन्छ ।’’

इकाइले परीक्षालाई मर्यादित, भयरहित र व्यवस्थित बनाउन केन्द्राध्यक्षलाई आवश्यक निर्देशन दिइसकेको तथा सुरक्षा निकायसँग समन्वय गरी कडा निगरानी बढाइएको जनाएको छ । “विद्यार्थीले वर्षभरि गरेको मेहनत प्रदर्शन गर्ने उपयुक्त थलो परीक्षा हल नै हो, त्यसैले शान्त र अनुशासित वातावरण सुनिश्चित गरेका छौँ,” बरालले भन्नुभयो । यसअघि एसइई सम्पन्न भएपछि मात्र फरक जिल्लामा उत्तरपुस्तिका जाँच गरिने व्यवस्था थियो । यस पटक भने परीक्षा केन्द्रमै सोही दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । पहिलो दिनको परीक्षा सबै केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भई उत्तरपुस्तिका जाँचसमेत गरिएको इकाइले जनाएको छ ।

तपाईको प्रतिक्रिया