विराटनगर/ उद्योग संगठन मोरङले आयोजना गरेको घर निर्माण प्रदर्शनीको आज दोस्रो दिन गुणस्तरीय निर्माण सामग्री र घर सुरक्षा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ।

निर्माण प्रदर्शनीमा जारी थिमेटिक सेसनको पहिलो दिनमा विषय विज्ञहरूको सहभागितामा अन्तरक्रिया र छलफल सम्पन्न भएको हो।

सेसनको पहिलो सत्रमा ुनिर्माण सामग्रीको गुणस्तर कसरी जाँच्नेु शीर्षकमा बोल्दै इन्जिनियर अमितकुमार गुप्ताले घर तथा भवन संरचना निर्माणका क्रममा प्रयोग हुने छड, इँटा, ढुंगा, रोडा, पानी, सिमेण्ट लगायतका निर्माण सामग्रीको प्रयोग र गुणस्तरीयताबारे जानकारी गराए। उनले नेपाली समाजमा भने इन्जिनियरले भनेको निर्देशनलाई नमान्ने प्रचलन रहेको र त्यसको परिणाम, गुणस्तर कायम हुन नसकी कमजोर संरचना निर्माण हुने र आर्थिक रुपमा क्षति पुग्ने बताए।

‘भण्डारण अवधि ३ महिना भएको सिमेन्टको भारवहन क्षमता २० प्रतिशत, ६ महिना भण्डारण गरेको सिमेन्टको ३० प्रतिशत कम बहन क्षमता हुन्छ’ उनले भने , ‘एक बर्ष भण्डारण भइसकेको सिमेन्टको ४० प्रतिशत र २ बर्ष भण्डारण भएको सिमेन्टको ५० प्रतिशत कम भारवहन क्षमता हुन्छ, यस्तो सिमेन्ट प्रयोग गर्नु हुँदैन ।’

अग्नी सुरक्षा प्रणाली तथा घर सुरक्षा अभ्यासु मा बोल्दै इरोटेक टेक्नोलोजिज् प्रालिका संचालक तथा विज्ञ आशिष अग्रवाल आगलागीबाट बच्ने उपायबारे बताए। उनका अनुसार आगलागीबाट हुने ठुलो क्षतिको सबैभन्दा प्रमुख कारण आगो लागेको जानकारी नै ढिलो थाहा हुनुसँग सम्बन्धित रहेको छ ।

‘करिब ८० प्रतिशत आगलागीजन्य मृत्यु घर तथा कार्यालयमै हुनेगर्छ, सानो आगोसमेत ३ मिनेटभित्रै नियन्त्रणबाहिर जान सक्ने कुरा हामीले कसरी थाहा पाउने भन्ने जान्नु जरुरी छ’ उहाँले भन्नु भयो, ‘त्यसका लागि केही आधुनिक सुरक्षा प्रणालीको विकास भइसकेको छ ।’

‘अहिले अनेकौं स्मार्ट प्रविधिको प्रयोग बढ्दो छ, मोबाइल एपमार्फत नै घरको निगरानी, धुवाँ वा तापक्रम असामान्य भएमा तुरुन्त सूचना आउने तथा आवश्यक परेमा स्वचालित रूपमा विद्युत् आपूर्ति बन्द हुने जस्ता सुविधा उपलब्ध भइरहेका छन्’ अग्रवालले भन्नु भयो, ‘सिसिटिभी र फायर अलार्मलाई एकीकृत गर्दा २४सै घण्टा सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।’

अन्तरक्रियाको क्रममा सहभागीहरूले विज्ञहरूसँग अन्तरक्रिया समेत गर्नु भएको थियो।

प्रदर्शनीमा सुविधा सम्पन्न डोमभित्र घर निर्माणका लागि आवश्यक पर्ने प्रविधि, उपकरण र निर्माण सामग्री समावेश गरिएका ७५ वटा स्टल राखिएका छन् ।

उद्योग संगठनले जारी घर निर्माण प्रदर्शनीमा दैनिक रुपमा थेमेटिक सेशन संचालन गर्दै आइरहेको जनाएको छ । शनिबार आधुनिक घरका लागि वास्तुकलाको सिद्धान्त र प्रयोग तथा इन्टेरियर डिजाईन अवधारणा र स्पेस प्लानिङ, उपयोगीता र सौन्दर्यबारे विज्ञहरूबाट प्रस्तुतिकरण गरिने उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया