विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरूले नेपालको संविधानले समानताको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय अझै पनि विभेदको सिकार भइरहेको बताएका छन्।
संविधानका धारा १२, १८ र ४२ ले यी समुदायका अधिकारलाई मान्यता दिएको भए पनि नागरिकता प्राप्ति, वैवाहिक समानता, शिक्षा तथा अन्य आधारभूत सेवामा अझै पनि कठिनाइ भोग्नुपरेको उनीहरूको भनाइ छ। “हामी पनि अरू सरह समान व्यवहार चाहन्छौं, तर त्यो अनुभव गर्न पाएका छैनौं,” सहभागीहरूको गुनासो थियो।
ब्लु डायमण्ड सोसाइटीको आयोजनामा र परिवर्तनशील समाज विराटनगरको समन्वयमा सम्पन्न एकदिने अभिमुखिकरण कार्यक्रममा समुदायका प्रतिनिधिहरूले आफ्ना अनुभव र चुनौतीहरू साझा गरेका थिए।
कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीका कार्यक्रम संयोजक सुमन नेपालले तेस्रोलिङ्गी समुदायको पहिचान, अधिकार र सामाजिक अवस्थाबारे प्रस्तुति दिँदै समाजमा अझै पनि गलत धारणा र विभेद कायम रहेको उल्लेख गरे। उनले यस्तो सोच परिवर्तन गर्न व्यापक सचेतना आवश्यक रहेको बताए।
त्यसैगरी, परिवर्तनशील समाज विराटनगरकी कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक स्वीकृतिमा समुदाय अझै पछाडि परेको बताइन्। सरकारी कार्यालयहरूमा सेवा लिन जाँदा समेत पहिचानको समस्या झेल्नुपरेको उनको भनाइ थियो।
किन्नर समाजकी नायक शल्मा वेगमले विगतको तुलनामा अहिले समुदाय खुलेर आफ्नो पहिचान व्यक्त गर्न थालेको बताउँदै भनिन्, “हामी मुख्यतः आशिर्वाद दिने र दक्षिणा लिने पेशामा छौं, तर अझै पनि कतिपय स्थानमा दुर्व्यवहार सहनुपर्छ।”
कार्यक्रमका सहभागीहरूले यस्ता अभिमुखिकरण कार्यक्रमले समाजमा सकारात्मक सोच विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया