विराटनगर । विराटनगर महानगरपालिकाले वातावरणीय प्रदूषण नियन्त्रणमा कडाइ गर्दै केशलिया खोला तथा आसपासका कृषि क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने तीन वटा ट्यांकर नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो विराटनगर–६ स्थित केशलिया खोलामा प्रत्यक्ष रूपमा फोहोर फालिरहेको अवस्थामा नगर प्रहरीले को १ त ३८८३, को १ त ९४०२ र को २ त ४३७० नम्बरका ट्यांकर नियन्त्रणमा लिएको हो । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सार्वजनिक स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको छ ।

महानगरका अनुसार खोलामा मिसाइने शौचालयजन्य फोहोरले हैजा, झाडापखाला लगायतका जलजन्य रोग फैलिने उच्च जोखिम सिर्जना गर्दछ । केशलिया खोलाको पानी स्थानीय कृषकले पशुपालन र सिंचाइमा समेत प्रयोग गर्ने भएकाले यसको असर गाई, भैंसी जस्ता पशुमा समेत पर्न सक्ने खतरा औंल्याइएको छ ।
यसअघि महानगरले सेफ्टीट्यांकी व्यवसायीहरुलाई बारम्बार सचेत गराउँदै खुला स्थानमा फोहोर नफाल्न निर्देशन दिएको थियो । महानगरका मेयर नागेश कोइरालाकै उपस्थितिमा व्यवसायीहरुसँग छलफल गरी विशेष गरी विराटनगर–१४ जतुवास्थित फोहोर पानी प्रशोधन केन्द्रमै मात्रै शौचालयजन्य फोहोर विसर्जन गर्ने सहमति भएको थियो । तर, केही व्यवसायीले उक्त निर्देशन अवज्ञा गर्दै अवैध रूपमा फोहोर फाल्ने कार्य जारी राखेपछि महानगरले कारबाही प्रक्रिया अघि बढाएको हो ।

महानगरले नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने र दोषीलाई जरिवाना तथा अन्य कारबाही गरिने जनाएको छ । साथै, वातावरणीय मापदण्ड पालना नगर्ने व्यवसायीको इजाजतसमेत खारेज गर्न सकिने चेतावनी दिएको छ ।
विराटनगर महानगरले आगामी दिनमा नदी, खोला तथा सार्वजनिक क्षेत्रको संरक्षणका लागि अनुगमन थप सुदृढ बनाउने र उल्लंघन गर्नेहरूमाथि ‘शून्य सहनशीलता’ नीति अपनाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया