काठमाण्डौ — कपिलवस्तुमा हिजोदेखि लगाइएको निषेधाज्ञाबारे थप निर्णय लिन आज बिहान सर्वदलीय बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालयका अनुसार हिजो दिउँसो २ बजेदेखि लागू गरिएको निषेधाज्ञा अहिले पनि कायमै छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार बिहान साढे ८ बजे सर्वदलीय बैठक बसेर अवस्थाको समीक्षासहित आवश्यक थप निर्णय हुनेछ । उहाँले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिँदै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।
महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले हिजो दिउँसोदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सूचनाअनुसार महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइनेछैन ।
घटना नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । महाराजगन्ज नगरपालिकामा निषेधाज्ञाकाबीच भएको घटनामा ५ जना प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् । उनीहरुको उपचार भैरहेको छ ।





