विराटनगर । नेपालको कृषि क्षेत्रको मेरुदण्ड मानिने कुखुरापालन व्यवसाय अहिले बहुआयामिक संकटबाट गुज्रिरहेको छ। बजार अभाव, लगानीको कमी र रोगको प्रकोप मुख्य चुनौतीका रूपमा देखिएका छन्।राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणअनुसार ४५ प्रतिशत किसानले आफूले उत्पादन गरेको कुखुरा तथा अण्डाले उचित बजार नपाएको गुनासो गरेका छन्। प्रदेशगत रूपमा लुम्बिनी प्रदेश (५६.५%), कोशी प्रदेश (५४.६%) र बागमती प्रदेश (५१%) मा बजार अभाव उच्च देखिएको छ।
त्यस्तै, लगानी अभाव दोस्रो ठूलो समस्या (२०.५%) का रूपमा रहेको छ। विशेषगरी मधेश प्रदेश (३५.३%) र सुदूरपश्चिम प्रदेश (३२.४%) मा पुँजीको अभावले किसानहरू प्रभावित भएका छन्।अन्य प्रदेशहरूमा फरक–फरक चुनौती देखिएका छन्। कर्णाली प्रदेशमा चल्लाको गुणस्तर (३१.१%) र व्यवस्थापन (२९.५%) मुख्य समस्या छन् भने गण्डकी प्रदेशमा व्यवस्थापन (१४.६%) चुनौतीका रूपमा रहेको छ। सुदूरपश्चिममा कामदार अभाव (७.३%) पनि उल्लेखनीय समस्या देखिएको छ।
यसैबीच, रोगको प्रकोपले कुखुरापालन व्यवसायमा थप संकट निम्त्याएको छ। बर्ड फ्लुका कारण मोरङको उर्लाबारी र सुन्दरहरैंचा क्षेत्रमा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ। संक्रमित कुखुरा नष्ट गर्दा किसानहरू ठूलो आर्थिक मारमा परेका छन्।
किसानहरूका अनुसार बजारको सुनिश्चितता, सहुलियतपूर्ण कर्जा, रोग नियन्त्रणका प्रभावकारी उपाय र प्राविधिक सहयोग उपलब्ध नगराइए कुखुरापालन व्यवसाय थप संकटमा पर्न सक्ने खतरा बढ्दो छ। सरकारले दीर्घकालीन योजना र राहत प्याकेज ल्याउनुपर्ने माग किसानहरूले गरेका छन्।





