काठमाण्डौ – प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटनका खेलहरु वर्षाका कारण स्थगित भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पीएम कपको उद्घाटन खेलहरु स्थगित भएपछि टाेलीहरुले अङ्क बाँडेका छन् ।

प्रतियोगिताअन्तर्गत जनकपुरमा निर्धारित कोशी र मधेश प्रदेशको खेल शुरू हुनै सकेन भने वीरगञ्जमा निर्धारित कर्णाली र लुम्बिनी प्रदेशको खेल शुरू हुनेवित्तिकै रोकियो । लुम्बिनीले ७ ओभरमा २० रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो । पानी परेर खेल रोकिएपछि सबै टोलीहरुले १/१ अङ्क पाएका छन् ।

यो प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोली– नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीगरी १० टोली सहभागी छन् । खेलहरु काठमाण्डौको मुलपानी क्रिकेट मैदान, मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा हुनेछन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया