झापा । बिर्तामोड बसपार्क क्षेत्र आसपासका होटलहरूमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको गुनासो बढेपछि नेपाल प्रहरी सक्रिय बनेको छ।
गए राति करिब ९:४५ बजे अर्जुनधारा नगरपालिका–११ स्थित राईमान होटल एन्ड लजमा गरिएको ‘सर्च अपरेशन’का क्रममा ५ युवतीसहित १० जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा पर्ने युवतीहरू १८ देखि २४ वर्ष उमेर समूहका रहेका छन् भने ग्राहकका रूपमा भेटिएका ४ भारतीय र १ नेपाली पुरुष पनि रहेका छन्।
यसअघि पनि केही दिनअघि सोही क्षेत्रका अन्य होटलहरूबाट ६ जनालाई पक्राउ गरिएको थियो। उक्त घटनामा लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार बसपार्क क्षेत्रका करिब दुई दर्जन होटलहरूमा यौनधन्दा सञ्चालन हुँदै आएको गुनासो छ। प्रहरी निगरानी कडा भएपछि होटल सञ्चालकहरूले नयाँ तरिका अपनाउँदै बाहिरबाटै युवती बोलाएर यस्तो गतिविधि सञ्चालन गरिरहेको आरोप समेत लाग्दै आएको छ।
प्रहरीले यस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि नियमित निगरानी र कारबाहीलाई अझ कडा बनाइने जनाएको छ।

तपाईको प्रतिक्रिया