विराटनगर । सीमा क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले मोरङमा सक्रियता बढाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण टंकीसिनवारी मातहतका युनिटहरूले फागुन महिनाभरि विभिन्न नाकाबाट अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएका छन्।
सशस्त्र प्रहरीका अनुसार फागुन महिनामा मात्र ४० लाख ९९ हजार ९९० रुपैयाँ मूल्य बराबरका अवैध सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको छ। त्यस्तै करिब ५ लाख ९७ हजार ६५० रुपैयाँ मूल्य बराबरका घरेलु मदिरासहित अन्य अवैध सामान नष्ट गरिएको छ।
कारबाहीका क्रममा २७६ दशमलव ९ केजी गाँजा, १४ ट्याब्लेट नाइट्रोजेपाम र ० दशमलव २५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। साथै ७ लाख ६२ हजार ६१५ रुपैयाँ नेपाली नोटसहित १५ जना व्यक्तिलाई पक्राउ गरिएको छ।
अवैध सामान बरामद, नष्ट तथा नगदसहित व्यक्तिहरू पक्राउ गर्ने कार्यमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी, विराटनगर अग्रस्थानमा रहेको बताइएको छ। उक्त गुल्मसहित वीओपी दरैया र वीओपी जहदा भुटाहाले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेलेका छन्।
फागुन महिनामा मात्र सीमा सुरक्षा गुल्म रानीले २२ लाख ९२ हजार रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय विराटनगरमा बुझाएको जनाएको छ। सोही अवधिमा करिब ४ लाख रुपैयाँ मूल्य बराबरका अवैध कुखुरा नष्ट गरिएको छ।
यसैबीच, अवैध रूपमा भित्र्याइएको ३ लाख ११५ रुपैयाँ नेपाली नोटसहित एक जनालाई पक्राउ गरी नियमनकारी निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी वीओपी दरैयाले करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका सामान तथा वीओपी जहदा भुटाहाले करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालय विराटनगरमा बुझाएका छन्।
सीमा क्षेत्रमा गस्ती तथा निगरानी कडा पार्दै अवैध कारोबारमा संलग्न समूहलाई निरुत्साहित गर्ने अभियानलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीको भनाइ छ। साथै फागुन २१ गते सम्पन्न निर्वाचनलाई समेत प्रभावकारी सुरक्षा प्रदान गरिएको जनाइएको छ।





