धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेकाे आराेप लगाएका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाे टाेलीले भट्टलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाटै पक्राउ गरेको हाे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले भट्टलाई पक्राउ गरिएको पुष्टि गरे । भट्टविरूद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराध सम्बन्धी जाहेरी दिएका थिए ।

खनालकाे जाहेरीका आधारमा भट्टलाई पक्राउ गरिएको डिएसपी तिमिल्सिनाले जानकारी दिए । भट्टले केही दिनअघि एउटा स्थानीय मिडियामा अन्तर्वार्ता दिँदै सरुवा गर्ने क्रममा मुख्यमन्त्री शाहले आफूबाट ५ लाख घुस मागेकाे आराेप लगाएका थिए ।

उनकाअनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ । भट्टले मुख्यमन्त्रीमाथि घुस मागेकाे आराेपपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण साेधेकाे थियाे । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

तपाईको प्रतिक्रिया