- कारोवार दैनिक बाट साभार

काठमाडौं- इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वका १३ गन्तव्यमा जाने तयारी गरिरहेका हजारौं नेपाली स्वदेशमा रोकिँदा आउने समेत उतै फसेका छन् ।

अहिले पुनः श्रमस्वीकृति लिएर बसेका नेपालीहरु विदेश जान पाएका छैनन् भने करार सकिएर आउने तथा बिदा स्वीकृत भएकाहरु आउन नपाएका हुन् । विगत सात महिनाको तथ्यांक हेर्ने हो भने नेपालबाट प्रतिदिन २ हजार २ सयभन्दा बढी नेपाली रोजगारीका लागि विदेश जाने गरेको देखिन्छ । अहिले भने वैदेशिक रोजगार विभागले श्रमस्वीकृति रोकेको छ । रोजगारीका लागि जानेमा पनि करिब ८५ प्रतिशत हाल युद्ध भइरहेका गन्तव्यमा जाने गरेका छन् । युद्ध शुरु भएयता करिब ३१ हजार नेपाली मध्यपूर्वका देशमा जान रोकिएको अनुमान छ ।

हाललाई श्रमस्वीकृति रोकिएको भए पनि खुला भएपछि जानेको चाप बढ्ने देखिन्छ । युद्ध लामो समय चलिरहे त्यसको प्रत्यक्ष असर नेपालको रोजगारी र रेमिटेन्समा पर्ने देखिन्छ । नयाँ श्रमस्वीकृति लिएर रोकिएका भन्दा पुनः श्रमस्वीकृति लिएका युवा गन्तव्यमा जान नपाउँदा उनीहरुको रोजगारी जोखिममा परेको मेनपावर व्यवसायी बताउँछन् । सरकारले १३ देशका लागि श्रमस्वीकृति रोके पनि बिदामा आएकाहरु जाने वातावरण बनाउन अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युद्ध केही कम हुने र हवाइ मार्ग खुला भएको खण्डमा आवश्यकता हेरी पठाउन सकिने मनसाय सरकारको रहेको छ ।

मध्यपूर्वमा रहेका नेपालीहरूको अद्यावधिक विवरण संकलनका लागि अनलाइन दर्ता पोर्टल सञ्चालनमा आएयता करिब ६३ हजार ५७७ नेपालीहरुले विवरण दर्ता गराएका छन् । यीमध्ये ६ हजारभन्दा बढीले आफूहरु जोखिममा रहेको जनाएका छन् । यसरी नै खाडीका विभिन्न एयरपोर्टमा अड्किएका मध्ये अधिकांश गन्तव्यमा गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जोखिम भए पनि मध्यपूर्वमा रहेका नेपालीहरुले नियमित रुपमा काम गरिरहेका छन् । सबैभन्दा बढी जोखिमपूर्ण मानिएको इजरायलमा समेत नेपालीहरु नियमित रुपमा काम गरिरहेका छन् ।

परराष्ट्रमन्त्री बालानन्द शर्माले विदेशमा रहेका नेपालीको अवस्था नियमित रूपमा निगरानी गर्न ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिँदै अवस्था सामान्य रहेको बताएका छन् । ठूलो संख्यामा रहेका नागरिकको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक परे उद्धार कार्य सञ्चालन गर्न सरकार तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

तीन वर्षको तथ्यांकलाई औसत गर्दा वार्षिक ७ लाख ६६ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएका देखिन्छ । यो संख्या पुनः श्रमस्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रमस्वीकृति लिएका मध्ये ६४ प्रतिशत नयाँ कामदार हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रमस्वीकृति लिनेको संख्या रहेको छ ।

गत आवमा रोजगारी खोज्दै ८ लाख ३९ हजारभन्दा बढी युवा विदेश गएका थिए । प्रतिदिन नेपालबाट विदेश जाने कामदार संख्याकै आधार विदेशबाट पनि नेपाली आउने गरेको अध्यागमन विभागले सार्वजानिक गरेको तथ्यांकले देखाउँछ ।

तपाईको प्रतिक्रिया